चित्रित !

कहिलेकाहीँ एकैपल भेटिएका क्षणहरुले
वर्षौ देखि जोडिएका सम्बन्धहरुलाई उछिन्दा रहेछन्,

कहिलेकाहीँ मात्र एकथोपा आशुँले
मुटुमै गढेर बसेका दुखाईलाई निको पार्दा रहेछन्,

कहिलेकाहीँ त्यो बगिरहेको खोलाको छालले
जमिरहेको मनको बोझलाई बगाउँदा रहेछन् ,

कहिलेकाहीँ सुकेका पातहरुले
नयाँ हरिया जीवनलाई अङ्कित गर्दा रहेछन्,

कहिलेकाहीँ ठडिएको रुखले
लडेका ती आशाहरुलाई भरोसा दिँदा रहेछन्,

कहिलेकाहीँ भुरुरु उडेका चराहरुले
हराएका मनुष्यलाई बाटो पहिल्याउन प्रेरित गर्दा रहेछन्,

कहिलेकाहीँ कछुवाको सानो गतिले
बिचलित मान्छेलाई धैर्यता सिकाउने रहेछन्,

कहिलेकाहीँ रोएका आँखाहरुले
मुहारमा मुस्कान छर्न विर्सिएको कुरा याद गराउँदा  रहेछन्,

कहिलेकाहीँ झुटका समझदारीले
वास्तविक सत्यताको खोजी गर्न सिकाउने रहेछन्,

कहिलेकाहीँ, हराएपछि
भेटाउन सिकिन्छ
कहिलेकाहीँ, मौन भएपछि
आफ्नो बोलिको महत्त्व थाहा हुन्छ
कहिलेकाहीँ, केही बन्न नसकेपछि
आफू बन्न सिकिन्छ
कहिलेकाहीँ, कसैको बन्न नसकेपछि
आफ्नो बन्न सिकिन्छ
....
र, कहिलेकाहीँ,
यिनै कुराहरुले जिवनलाई चित्रित गर्दा रहेछन् ।। 

Comments

Popular Posts