कहिलेकाहीँ
मलाई एकदमै सामान्य र सरल हुन मनलाग्छ । अनि कोसिस पनि गर्छु..........
मेरो
खुट्टाको चप्पल अघि नै म उभिएको ठाउँभन्दा अलि पर राखिसके । खुला भूमिमा म उभिएको छु । मलाई आज यो धर्ती
महसुस गर्नु छ । म मेरा आँखाहरूलाई असंख्य दृश्यहरूमा केन्द्रित गर्दै छु ।
नियाल्दै छु । बगिरहेको खोला हेर्दै छु । ए साँची खोला बग्न कहिले छोड्छ होला? म आफैलाई सोध्छु । ‘म कहिल्यै बग्न छोड्दिन’,
अझ म आफैँ खोला बनेर जबाफ दिन्छु । जस्तो
कि वायु कहिल्यै बहन छोड्दैन, जस्तो कि सुर्यले कहिल्यै उज्यालो छर्न विर्सिदैन, जस्तो
कि यात्रीले कहिल्यै बाटो मोड्दैन । त्यस्तैगरी खो
ला बग्न कहिल्यै छोड्दैन । र
लाग्छ, जस्तो कि यो हाम्रो जीवन कहिल्यै सकिँदैन ।
त्यो
पारी पट्टीको डाडामा चराहरु चिरबिर गर्दै मलाई केही भनेझैं लाग्छ । सायद मैले आज त्यही
अघिपछि नबुझेका चराका कुराहरु सुन्न खोजिरहेछु । चराका चिरबिर चिरबिर आवाजलाई म
कानले हैन मुटुले सुन्दै छु । मनले मनन गर्दै छु । सधैंझैँ ति चराहरु केही
भन्दैछ्न् । केही भनिरन्छ्न् ति चराहरु सधैंझैँ । मलाई आज एक्कासी चरा हुन मन लाग्यो
। चरासङ्ग कुरा गर्न मन छ । उनिहरुको दिन कस्तो भयो भनी सुन्न मन छ । चराहरुको
सन्सार कल्पना गर्न मन छ । लाग्छ चराहरुको पनि बिहान र बेलुका हुन्छ होला हाम्रो
जस्तै । चराहरु पनि मानिस जस्तै सोच्छ्न् होला । चराहरु पनि भोलिका बारे चिन्तित
हुन्छन् होला । यी सब कुराहरु बुझ्न मन छ । यसैले त मलाई चरा हुन मन छ । तर मलाई
यो पनि थाहा छ कि मानिस (होमो प्रजाती) नै एउटा यस्तो जनावर हो जसले कल्पना गर्न
सक्छ, भोलिका बारेमा सोच्न सक्छ ।
ए
साचि मैले त आजको यो दिनलाई धन्यवाद भन्नै विर्सेछु । यो पललाई, त्यो बगिरहेको खोलालाई, यो हावालाई, यो भूमिलाई,
ती पंक्षीलाई, ति जनावरहरुलाई, ती मानिसहरुलाई । जसलाई मैले देखे, जेलाई मैले
स्पर्श गरे, जेले मेरो प्राणमा जीवन भरिदियो ती सबलाई मैले ह्रुदय
देखि नै धन्यवाद भन्दै छु म अहिले । धन्यवाद यसकारण कि यी सबै जीवन हुन् । जीवनका
मार्ग हुन् । जीवनका कोशीकाहरु हुन् ।
धन्यवाद यो परिस्थितिलाई, यो अवस्थालाई । धन्यवाद सबैलाई !
भर्खरै
मैले आँखा चिम्लेर लामो एक सास भित्र लिई शरीरका कुनाकाप्चा तिर पुर्याए अनि फेरि
सबैतिरका सासलाई बाहिर पनि फाले । कस्तो हलुका भएँ म । एक सासमै म उर्जावान भए ।
दिनभरको थकानलाई एकैपलमा मेटाइदिएँ । किनकिन मलाई यसै आफैँ हलुका भएको अनुभव
लागिरहेछ । म अहिले पनि आँखा चिम्लिरहेको छु । लाग्छ म हावामा तैरिरहेको छु । मलाई
मेरो शरीर नै महसुस भइरहेको छैन । साँच्चै जीवन्त भइरहेछु म । जीवनको कुनै एउटा
पलमा म पुरै जीवनलाई जिइरहेछु । मलाई आँखा चिम्लेर देखिने र महसुस गर्न मिल्ने
जीवन प्यारो लाग्न थालेको छ ।
भन्छन्
यो ब्राह्मणको कुनै निश्चित सिमा छैन । मलाई पनि त्यस्तै लाग्छ । अझ मलाई त यस्तो
लाग्छ हाम्रो मस्तिष्क नै यो सम्पूर्ण ब्रह्माण्ड हो । किनकी हाम्रो मस्तिष्कको
पनि कुनै निश्चित सिमा नै हुँदैन । भनिन्छ, पृथ्वीमा जति बालुवाका कणहरु छन् त्यो
भन्दा बढि ब्रमाण्डमा ताराहरु छन् । हामीले हेर्न मिल्ने ब्रमाण्डको त कुनै सिमा
छैन भने झन् त्यो उता कालो पर्दा पछाडिको दृश्यको त कुनै कल्पना नै हुने भएन । यस्ता
कुरा मान्छेले चाँहि कसरी थाहा पाए होलान् , अचम्म लाग्छ । अघि नै भनेको जस्तो,
मानिस नै त्यस्तो एउटा मात्र प्राणी हो जसले आफ्नो कल्पनालाई पुरा गर्न सक्छ ।
एकहुल
चराहरु म बसेको डाडाको छेउबाटै उडेर गए । साँझ पर्न लागेपछिको चराहरुको उडान र रातपर्न
थालेपछि मानिसहरूको घरतिरको लम्काइ मलाई एउटै लाग्छ । कसरी थाहा भयो होला चरालाई
साँझ पर्न लाग्यो भनेर । कस्तो अचम्म ! कसरी थाहा भयो चरालाई उ आफू बेलैमा घर
पुग्न पर्छ भनेर । चरालाई पनि लाग्दो हो बेलैमा घर पुगे भने आफ्ना लागी कुरिरहेका
अरु घरका सदस्यहरु पनि खुशी हुन्छन् भनेर । लाग्दो हो धेरै ढिला भए भने मैले बाटै
विर्सन्छु भनेर । अनि कल्पिन्छु, चराहरुले पनि कल्पना गर्न सक्छन्, आफ्ना बारेमा
सोच्न सक्छन् । मानिस जस्तै ।
चम्किएको
चन्द्रमा र दिनहुँ फेरिने उसको आकार मलाई मेरो जीवनको सबैभन्दा सुन्दर साथी लाग्छ
। किनकी उ कहिल्यै एकैनाशको रहनै सक्दैन । उसलाई कसैले तटस्थ भन्नै सक्दैन । उ
जहिलै नयाँ हुन्छ । जस्तो कि मान्छे दिनहुँ नयाँ हुन, नयाँ बन्न मरिहत्ते गर्छ तर
सक्दैन । चन्द्रमा हेरेर मलाई लाग्छ, “म जस्तै यतिखेर चन्द्रमा हेर्ने कत्ती छन्
होला है” । म उनिहरुको निम्ति चन्द्रमा हेर्दै छु जसले यतिखेर साथीको साथ पाएको
छैन । जसले यतिखेर एक्लोपन महसुस गर्नुपरेको छ । जो यतिखेर निराश बनरे आकाश तिर
हेर्दै छ । मजस्तै । मलाई लाग्छ म जस्तै सन्सारको कुनै कुनाबाट अरुले पनि चन्द्रमा
हेर्दै छ । हो म उनिहरुको साथी बन्नलाई चन्द्रमा हेरिरहेछु । किनकी उ पनि त थाहा
नपाई-नपाई मेरो साथी बनिरहेछ । मेरो एक्लोपनलाई एक्लो बनेरै साथ दिइरहेछ । मेरो
निराशमा निराश बनेर नै साथ दिइरहेछ । मेरो सानो पलको ठुलो खुशीको साक्षी बनिरहेछ ।
त्यसैले त म चन्द्रमा हेर्दै छु । त्यसैले त मलाई आज सामान्य हुन मन छ ।
अहिले
म धर्तीमा पल्टिएको छु । अघि खुट्टाले महसुस गर्दै थिए भने अहिले मेरो पूरा शरिरले
महसुस गरिरहेछ धर्तिको धड्कन । साँझको शान्तमा पाखुरालाई सिरानी बनाएर अर्ध गोलो
चन्द्रमा हेर्दै धर्तीलाई बिछ्यौना बनाइरहेछु । सुर्यको किरण हराए सङ्गै आकाशको
असली रङ्गमा म मोहित हुँदै छु । मलाइ आकाश प्रकाश विहिन भएको एकदमै मनपर्छ । लाग्छ
आकाश प्रकाश विहीन हुनु भनेको सन्सार फैलनु हो । मैले भर्खर महसुस गरे धर्ती
हावामा झुलेको छ । हावा मै तैरिरहेको छ । म फेरि आँखा चिम्लेर हावामा तैरिरहेको अनुभव
गरिरहेछु । आँखा चिम्लनु भनेको सन्सार फैलनु रहेछ, मैले बल्ल बुझेँ । ओहो ! यस्तो
राम्रो कुरा पो रहेछ आँखा चिम्लनु भनेको । आफुँमा सन्सार अनुभव गर्नु भनेको ।
.......
मलाई
जहिल्यै पनि सामान्य हुन मनपर्छ । सरल बन्न मनपर्छ । तर म सरल हुने प्रयासमा जटिल
बन्दै गएको पाउँछु अनि कहिलेकाँही यस्तै डाडाहरुमा आफ्नो जीवनको सुमधुर समयमा सरल
हुन आत्तुर हुन्छु र केही छिनलाई सरल हुन्छु पनि होला । लाग्छ सरल देखिनु र बन्नु
एकदमै फरक कुराहरु हुन् । बोल्नु र सुन्नु जत्तिकै फरक । फरक जस्तो कि दिन र रात ।
जब म आँखा चिम्लेर लामो सास भित्र लिँदै फेरि उहि वेगमा लामो सास बाहिर फाल्दा
मलाई ‘म’ सरल भएको अनुभव हुन्छ । किनकी म सरल हुनु भनेको म स्वयं ब्रमाण्डको एक
फन्को मार्न तम्तयार छु भनेको हो । म सरल हुनु भनेको चराहरु संग कुरा गर्नु हो । चरा
हुनु हो । खोला संगै खोलाकै वेगमा कलकल बग्नु हो । वायुको तरङ्ग संगै तरङ्गित हुनु
हो । धर्ती संग स्पर्श गर्नु हो । धर्तीको
धड्कन सुन्नु हो । चन्द्रमा संग भलाकुसारी गर्नु हो । मजस्तै चन्द्रमा हेर्नेहरुको
साथी बन्नु हो । यी सब मेरा सरल र एकदमै सामान्य व्यवहारहरु हुन् । यति सामान्य र
सरल कि यिनलाई मैले वास्तै गर्दिन हिजोआज । सायद त्यसैले होला म हिजाआज जटिल हुँदै
गएको छु । तर ......... तर मलाई सरल र सामान्य ‘म’ नै मनपर्छ ।
Comments
Post a Comment