यति मात्र हो त ?

 कुरा आजको पक्कै पनि होइन तर दिनहरु आजका जस्तै थिए भन्दा खासै फरक चाहिँ पर्दैन । हरेक बिहानी केही नयाँ गर्ने सोच र उमंग लिएर आउँछ अनि साँझ निराश हुँदै कालो अन्धकारमय रातमा परिणत हुन्छन् । हरेक दिन र  हरेक साँझ पहिले पनि यसैगरी बितेका थिए र एवम् रितले अहिले पनि बितिरहेछन् । 


सन्दर्भ:

लगभग आजभन्दा २/३ वर्ष अगाडि नै हो "समाज"लाई केही गर्न सकिन्छ कि भनेर मैले पहिलो कदम चालेको । आजसम्म आइपुग्दा यी मेरा पाइलाहरुले अनेकन पहाडहरु हिडेरै नापिसके होलान्, कति ठाउँहरु मनमस्तिष्कले बुझिसके होलान् तर मेरै आफ्नो समाज र गाउँलाई राम्रो सङ्ग नाप्न र बुझ्न सकेको छैन । तर कुरा यति मात्र भने पक्कै पनि होइन । तिमीलाई कसैले आएर "भोलिको दिनमा तिमी के गर्न चाहन्छौं?" भनेर सोध्यो भने तिम्रो जवाफ के हुन्छ मलाई थाहा छैन (तिमीलाई पनि थाहा नहुन सक्छ) तर मेरो जवाफ आजभन्दा १० वर्ष अघि पनि त्यही थियो, अहिले पनि त्यही छ र त्यही नै रहनेछ । त्यो हो "म मेरो समाजको निमित्त काम गर्न चाहन्छु" ।  सायद यिनै जवाफ र जवाफ भित्र लुकेको मेरा भोगाई र चिन्तनहरुले गर्दा नै होला मलाई समाजसङ्ग यति धेरै लगाव भएको । अनि नहोस् पनि कसरी, जुन भुमिमा मैले मेरो सबथोक पाए त्यही भुमिको निमित्त मैले मेरो सबथोक दिन सकिन भने म "म" हुनु र नहुनु विच के नै अन्तर हुन गयो र ? 


"परिवर्तन" शब्द लेख्दा, बोल्दा र सुन्दा जति सुन्दर र सहज जस्तो लाग्छ वास्तविक अर्थ तिमीले मैले सोचेको भन्दा धेरै फरक र अफ्ट्यारो छ । यसलाई न त तिम्रो डिग्रीले कुनै न्याय गर्न सक्छ न त मेरो कुनै चिन्तनको गहिराईले नै अटाउन सक्छ । एक दशक लामो मेरो चिन्तनमय जिन्दगीले त कति परिवर्तन देखिसक्यो, तर कैयौं दशकहरु देखेका र प्रत्यक्ष भोगेका मेरो गाउँले कहिल्यै देखेन त्यस्तो परिवर्तन जुन परिवर्तन को परिकल्पना तिमी र मैले देख्ने परिवर्तन जस्तै छन् । तर कुरा के यति मात्र हो त ? पक्कै पनि होइन । केही राम्रो त पक्कै पनि भएको छ होला । तर जुन गतिमा हुनुपर्थ्यो त्यो गतिमा चाहिँ हुँदै भएन । त्यसो भए अब के त ? प्रश्न आफैं जवाफ बनेर आउँछ । तर प्रश्न बुझ्ने फुर्सद कसलाई छ र ? अनि बुझेर पनि के गर्नु यदि बुझेका प्रश्नहरुको सहि जवाफ खोज्न र दिन सकिएन भने ? 


मलाई हरेक दिन लाग्छ, "सुरुवात" आफैंबाट गर्नुपर्छ तर के मैले मात्र सुरु गरेर हुन्छ त ? सुरु त मैले आजभन्दा ३ वर्ष अघि नै गरेको हो नि । खै के भयो त? तर के यति मात्र हो त ? परिवर्तन २/३ वर्ष मै आउँछ त ? यदि आएन भने कतै अझै आफैंमा परिवर्तन गर्नु जरुरी छ कि ? 


मैले समाजमा केही गर्नका निमित्त समाजकै मेरुदण्डको रुपमा रहेका युवावर्गलाई "युवा समूह" मार्फत पहिल्यै देखि भन्दै आएको छु कि, आजको हाम्रो यो गाउँको परिस्थिति आउनुको पछाडि हिजोका दिनमा कतै न कतै कुनै तवरमा सहि त पक्कै पनि भएको छैन होला । कुनै न कुनै हिसाबले कुनै क्षेत्रमा सहि त पक्कै पनि भएका छन् तर के हाम्रो बाआमाको बेलामा र हाम्रो छोराछोरीका बेलामा पनि हामीले उस्तै परिस्थिति पाउने हो त ? के हामीले १० वर्ष अघि र १० वर्ष पछि (हामी बच्चा हुँदा र हाम्रो बच्चा हुँदा) पनि उहीँ स्तरको सेवासुविधा पाउने हो त ? अझै सेवासुविधाहरुको गुणस्तर कतिपय क्षेत्रमा ध्वस्तै भएका छन् । जस्तो कि गाउँकै एकमात्र प्राथमिक विद्यालयको हालको अवस्थालाई लिए हुन्छ । तर कुरा के यति मात्र हो त ? जिम्मेवार को हो त उसोभए ? मलाई थाहा छ म पनि हुँ जिम्मेवार तर मै मात्र हो त ?, भन्ने मेरो कुरा । 


कुराहरु सुन्दा र बोल्दा रमाइलै लाग्दछ्न् । तर जब कुराको गहिरो स्व-अध्ययन गरिन्छ तब रमाइलै लाग्ने कुराहरु पनि गहिरा र गहनमय हुन पुग्दछ्न् । मलाई खासै कुरा गर्न मन लाग्दैन (मलाई बुझ्ने एकदुईजनालाई यो कुरा पक्कै पनि थाहा छ) तर जब गर्छु तब म "कुरा" मात्र गर्दिन । कुराहरु उपर आफ्नो विचारहरुले तिब्र रुपले नियाले पछि मात्र म निष्कर्षमा पुग्ने गर्दछु । तर मेरो निष्कर्ष तिम्रो प्रश्न आउँने बितिक्कै भने पक्कै पनि आउँदैन । किनकी मलाइ प्रश्नको गहिराईमा पुग्न केही समय लाग्छ । जब म बोल्छु त्यो मेरो बोलाई हुनेछैन । त्यसमा मेरा भोगाई र म जस्तै अरुका कथा र व्यथा पनि समेटिएका हुनेछन् । मेरा जवाफहरु तिमीलाई असाधारण पनि लाग्न सक्छन् । असान्दर्भिक पनि लाग्न सक्दछ्न् । किनकी मेरा कुराहरुमा मेरो र तिम्रो कुरा मात्र समेटिएका हुदैनन् । त्यसमा त हामी जस्ताकै कुराहरु समेटिएका हुन्छन् । आफ्नो पारिवारिक समस्याले विद्यालय जान नपाएका केटाकेटिहरुको कुरा मेरा "कुरा" हरुमा समेटिएका हुन्छन् । अनि यति मात्र हुँदैन ती विद्यालय जान छुटेका केटाकेटिहरुले पछि आफ्नो केटाकेटिहरुलाई विद्यालय पठाउन रुचाउँछन् कि रुचाउँदैनन् होला? भन्ने खालका कुराहरु हुन्छन् । 


"युवा क्लब" बाट समाजलाई नियाल्ने मेरो पहिलो प्रयास असफल भएकै हो भन्ने कुरामा कुनै दुईमत नै छैन । "युवा क्लब" सफल भयो कि भएन, यो कुराले मलाई केही पनि अर्थ राख्दैन तर म चाहिँ सफल भए कि भइन भन्ने कुराले मलाई अर्थ राख्दछ । हिजो जुन परिकल्पना र आत्मविश्वास सहित "समूह" मा विचार मन्थनहरु भए त्यसले कुनै मार्गदर्शक पाउनै सकेनन् । सायद हाम्रो त्यतिखेरको मनोबल र तयारी नै अपुरो थियो होला । सायद हामी अलि परिपक्क भइसकेका थिएनौ होला समाजका कुराहरुलाई व्यक्तिगत तवरबाट नियाल्न । तर कुरा त्यति मात्र भने पक्कै पनि होइन । 


अझै पनि कहिलेकाँही डायरी पल्टाउँदा "२०७८ साल माघ १ गते" भनेर लेखिएको मिति देख्दछु तब मेरो मनमष्तिस्कमा तिनै पुराना कुराहरु एक्कासि चिसो हावा चलेसरी बत्तासिएर आउँदछ्न् । मसङ्ग अझै पनि ताजै छन् त्यतिखेर विचार गरिएका "उदेश्यहरु" का क्रमबद्ध लहरहरु, अझै पनि ताजै छन् "महत्त्वपूर्ण कामहरु" भनेर लेखिएका शब्दहरु । हो केवल शब्दहरु मात्र छन् । शब्द पछिका भावहरु र शब्दले निम्त्याउने कर्महरुको पानामा भनेअझै पनि मौनता मात्र देख्दछु । खाली, शून्य र मौन पाना मात्र देख्दछु । हस्ताक्षर गरिएका नामहरुमा म अझै पनि तिनै जोस र जाँगरको परिकल्पना गर्दछु । मात्र परिकल्पना । किनकी मैले तिनै हस्ताक्षर पछिका शून्य जस्ता वास्तविकता र मौन बनेका जिम्मेवारीलाई पनि नजिकै बाट दर्शन गरिसकेको छु । तर के कुरा यति मात्र हो त ? 


निष्कर्ष:

मलाई खासै यस्ता कुराहरु लेखिरहन मन पर्दैन । तर जबदेखि समाज मै केही गर्ने अठोट र आत्मविश्वास लिएँ तब देखि यी र यस्तै कुराहरु अर्थपूर्ण हुन सक्दछ्न् भन्ने लागेको छ । मानिस सबै संधै सफल हुँदैनन् । सफल हुने क्रममा असफल हुनु भनेको फेरि सफलताकै बाटो पछ्याउँनु त हो नि । हार्नु भनेको नै जित्नु नै हो नि । तर यति मात्र भने पक्कै पनि होइन । 


अबको बाटो: 

मलाई जसले "युवा" भनेर सम्बोधन गर्दछ म उक्त व्यक्तिलाई यसै निराश हुन दिनेछैन । र मलाई यो छुट पनि छैन । मलाई लाग्छ "सुरुवात" त मैले नै गर्नु छ । "अहिले नगरे कहिले, हामीले नगरे कसले?" म हामीलाई "म" देख्दछु अनि भन्छु, "अहिले नगरे कहिले, मैले नगरे कसले?" 


मलाई बस् अब अन्त्य गर्नु छ किनकी सुरुवात त मैले वर्षौं पहिले नै गरिसकेको छु । म यात्रा कै क्रममा रहेको छु । "अब के गर्ने?" भन्ने जस्ता प्रश्नहरु दिनहुुँ जसो नआएका होइनन् तर जवाफ मलाई थाहा भएर पनि जवाफ विहिन जस्तो हुन पुगेको छु । तर जवाफ दिने काम मात्र भने मेरो होइन । मलाई थाहा छ यस्ता कुराहरु मेरा मात्र होइनन् । कतिपय यी र यस्तै कुराहरु बाहिर आउँदा पनि आउँदैनन् । मैले पनि म "यहि" कुरा लेख्छु भनेर लेखेको पनि होइन । यी त मेरा भावहरु हुन् । मनका, मस्तिष्कका र मेरा चिन्तनका । 


...... अबको यात्रा सुन्दर हुनेछ भन्ने पुर्ण आशा राखेको छु । किनकी मेरो "पहिलो पाइला" ले दोश्रो पाइलालाई केही हौसला र सहि निर्देशन दिएको छ । 


- सुरेन्द्र

Comments

Post a Comment

Popular Posts