अब त अत्ति भो !

    कति बेच्छौँ हिमालका टाकुरा, पहाडका कन्दरा र तराईका खोला ? कहिले तिनै हिमाल तलका बस्तीहरुको पिडा पनि सुन, कहिले ति पहाडका खोल्छाखोल्छी सङ्गै र तराईका नदिछेउ दिनानुदिन बल्झिरहेका घाउहरुका अवस्थाको पनि कुरा गर । कति सुनाउछौ तिम्रा मतलबी नाराहरु । देखावटी नाराहरु । सुनावटी र बनावटी नाराहरु । जहाँ सबै समान हुँदैनन्, भएपनि राखिँदैनन् । राखेपनि देखाँइदैनन् । तिम्रा नाराहरुले कहिल्यैपनि निर्माण गर्न सकेनन् र निको गर्न सकेनन् युगौँदेखि पिल्सिएर र बल्झिएर बसेका समाजका अराजकताहरु, समस्याहरु ।

    अब त अत्ति भइसक्यो । टाउको दुखिसक्यो, दिमाग र कंचट तातिसक्यो । गाँस, वास र कपास कै लागि तिम्रा स्वार्थका व्यवस्थासंग लडिरहेका नागरिकका कुरा कहिले सुन्छौँ तिमीले ? अनि कहिले समाधान गर्छौ ? त्यस्तैगरि अशान्तिका नमिठा छापले मुछिएका समाजका समस्याहरु कहिले बुझ्छौँ तिमीले ? तिमीले बुझेकै छैनौँ भने कसरी समाधान गर्छौ ? केवल बुझ्नेमात्र कोसिस गर । बुझ मात्र ।

    हामीले तिम्रा झुटा समाधानका सपनाहरु बुनेको धेरै भइसक्यो । केवल सपना मात्र । यथार्थ बुझेर पनि नबुझे झैँ गर्छौ तिमी । कतिन्जेल सपना मात्र देखाउछौ तिमी ? कति झुट मात्र बोल्छौ तिमी ? अब त लाज लागेर पनि लाज पचाइसक्यौँ होला तिमीले । त्यसैगरि पचाइसक्यौँ होला लाजका अनगिन्ती आय-व्ययहरु । समस्याका आय-व्ययहरु । झुटका आय-व्ययहरु । नाराका, स्वार्थका आय-व्ययहरु ।

उफ् अब त अत्ति भो !




Comments

Popular Posts