भारी, भोट र भाउ
"नमस्ते !" कुनै नौलो मानिसको आवाज मेरो कानमा पर्यो। तरकारीको भारी अलि गह्रौँ भएकाले सुरुमा त मैले केहि वास्तै गरिन। चिटचिट पसिनाले शरिरलाई नै हप्प बनाएर सास फेर्न नै अलि मुस्किल बनाइरहेको थियो। मलाई कतिखेर बजारमा पुगेर चाँडै नै ब्यापारीलाई तरकारी बेच्नु पर्ने भएकाले मैले त्यो म तिर तेर्सिएको "नमस्कार" को कुनै प्रतिक्रिया नै दिइन।
बरु मनमनै सोचिरहेको थिए कि अस्ति अलि ढिला हुँदा ब्यापारीले एक किलो तरकारीमा झन्डै १० रुपिँया सम्म घटाएका थिए। अनि अर्को मनले भनिरहेको थियो कि आज त अस्तिको भन्दा अलि चाँडै नै पुगेर अलि धेरैमा बेच्छु। "नमस्कार सन्चै हुनुहुन्छ?" अघिकै स्वरमा आवाज आयो। म मेरो शरिर र शरिरले बोकेको तरकारीको भारीलाई खुट्टाकै भरमा अडाएर उत्त मानिस भए तिर फर्किए।
सुकिलो पहिरनमा अगाडि बढेको मानिसलाई सुरुमा त मैले चिन्नै सकिन। "चिन्नु भएन कि के हो मलाई? म त्यहि अघिल्लो पाली तपाँइले भोट हालेर जितेको नेता त हो नि" नरम, मिजासिलो र हँसिलो बोलीमा नै सो मानिसले भने। मैले पसिनाले भिजेको मुहारबाटै मुस्कानको लयमा "नमस्कार" भने। नेता भनेपछि मैले चिनिहाले।
"यसपाली पनि अघिल्लो पटकको जस्तै चिन्हमा है न र?" मैले सोधिहाले। मेरो प्रश्न ले एकैछिन चुपचाप भएपनि मुहारमा उस्तै किसिमको हसिलोपन थियो जस्तो कि अघिल्लो पटकको यस्तै भेटमा थियो। "हजुरले त्यति गरिदिनुहुन्छ भनेर नै त म हजुरलाई भेट्न आएको हो यहाँ सम्म" भन्ने आदर्शका साथ उसले भने। "केहि अफ्ठेरो पर्यो भने भन्नु है! पछि भेटौँला अहिले हतार छ" भन्ने संवाद संगै उसले पछि भेट्ने कुरा गरे। "यसो घरतिर आउनु न चिया पिउने गरि कहिलेकाँही" मैले यति भनेपछि "हुन्छ नि" को जवाफमा उनि माथि गाउँतिर अघि बढे।
म पनि आफ्नो खुट्टाले अडाएको शरिर र शरिरले बोकेको भारी लिएर बजार तिर हिँडे। 'मैले त कस्तो ख्याल नै गरिनछु यति ठुला नेतालाई ! बरु नेताले नै पो मलाई चिनिरहेका रैछन त' खुशी हुँदै मनमनै सोचे। भारी झनझन् गह्रौँ हुँदै गइरहेको अनुभव भयो।
घडिले आजपनि अस्तिको जस्तै ढिला हुने संकेत गरिरहेको थियो। यतिकैमा अस्ति ढिला पुग्दाको नोक्सान सम्झिन पुगे। एकातिर अघि बढिरहेको समय अनि अर्कोतिर तरकारीको घटेको भाउलाई मनमनै नियाले। लौजा! आजपनि फेरि ब्यापारीले तरकारीको भाउ घटाउने भए भन्दै म हतारहतारमा बजार पुगे।
भारी बिसाएर जिउ सोझाएँ शिरको टोपी निकालेर अनुहारको पसिना पुछेँ। थाहा भयो कि आजपनि ब्यापारीले केहिछिन अगाडि सम्म प्रतिकिलोमा १० रुपिँया बढिमा तरकारी लिएका थिए भनेर। भारी बिसाएको छेउकै पेटिमा बसेर आफैँलाई भने कि "अब त सबेरै भारी बोकेर बजार आउन पर्छ एक गिलास चिया पनि नखाइकनै"।
Comments
Post a Comment