बत्ती गएपछि!

बत्ती गएपछि मेरा आँखाहरु खुले। अन्धकार मात्र थियो आँखा अगाडि। त्यसपछि मैले उज्यालोमा देख्न र सोच्न नसकिने कुराहरु अँध्यारो मै देख्न र सोच्न थाले। कल्पना गर्न थाले त्यो अन्धकार भित्र रहेको उज्यालोको। अनि खोज्न थाले आफैं भित्र हराएको आफैंलाई। सोच्दासोच्दै कतिखेर त्यो कालो अन्धकारले मलाई आफ्नो बनायो पत्तै पाइन। लाग्यो, यो अन्धकार पनि म जस्तै आफ्नै छाँयामा हराएको थियो होला त्यतिखेर। अनि ठाने उ पनि आफ्नै खोजीमा छ।

म यात्रा गर्न थाल्छु तिनै अन्धकारमा सानो उज्यालोको आशालाई आफ्नो गन्तब्य बनाएर। टाढाटाढा सम्म अन्धकार कै भुमरी मात्र थियो। एउटा सानो प्रकाशको अंश पनि मैले कतै भेट्न सकिन। एकैछिन लाग्यो "म आफ्नै खोजीमा आफैं भित्र त हराइन। कतै फर्किने बाटो भुले भने?",सोच्दा नै मेरा आशाले भरिएको मनमस्तिष्कमा निराशाको कालो बादल छाइसकेको थियो। थकानले भरिएको म अलापबिलाप गर्दै बसे। म एक्लो भए त्यतिखेर। लाग्यो आफु भित्र आफैंलाई खोज्नु मेरो मुर्खता थियो। अन्धकार भित्रको लामो र निराशाले भरिएको यात्रामा म कतै टाढा हराइसकेको थिए आज। आँखाको दृश्य तिनै अन्धकारको अँध्यारोमा विलीन भैसकेको थियो। उज्यालोको खोजिमा हिडेका मेरा आँखाहरु थकित भए, सोचहरु शून्य भए। थाकेका आँखाहरु चिम्लेर पुनः म अँध्यारोको अनगिन्ती गहिराइमा डुब्दै गए। गहिराइमा आफैंलाई हराउँदै गए। अनि ममा शुन्यता झन् भरिदैँ गयो।

यतिखेर म अन्धकारमा मात्र हैन आफैं सङ्ग पनि थिइन। म पुर्ण रुपले टाढा भैसकेको थिएँ अहिलेको वास्तविकता र परिवेश बाट। केवल बत्ती गएपछिको अँध्यारो थिएन यो। यो मेरो अँध्यारो सोच भित्रको अर्को पाटो थियो, जहाँ म आफ्नो यथार्थ बाट निक्कै पर थिएँ। जहाँ मेरा सामु हरबखत मेरा अनगिन्ती सोचहरुले आफुले चाहेका कुराहरु उत्पन्न गराउन सक्दछ्न्। जहाँ मेरो शुन्यतामा मैले धेरै पटक आफुलाई पाउने गर्दछ। जहाँ मेरो सोचहरु सिमित सिमा भन्दा धेरै पर पुगिसकेका हुन्छन्। र यसैगरी अघि बढ्ने क्रममा एक्कासी अन्धकारले भरिएको त्यो गहिराईमा बगिरहेका समुन्द्रको छालहरुमा मेरो दृश्य स्तब्ध हुन पुग्छ। एकैछिनमा विशाल समुन्द्र सामु म आफुलाई पाउँछु। खुशी हुन्छु। छालहरुले प्रवाह गरेका शितल हावाका तरंग सङ्गै मेरो मन र मस्तिष्कले निलो आकाशको उचाई देखि समुन्द्रको गहिराई सम्मको स्पर्श लिन पुग्छ। म आफुलाई उचाइमा पाएको जस्तो महशुस गर्छु त्यो समुन्द्रको गहिराई मै। उज्यालोको खोजिमा हिडेका मेरा आँखाहरुले उज्यालो त भेट्न सकेन तर त्यो उचाई अवश्य भेट्यो जहाँ बिशाल समुन्द्र र आकाश थियो। जहाँ शितलता थियो। उचाई थियो। सायद उज्यालो नै त्यही थियो जहाँ प्रकाश त थिएन तर पनि मैले चिसो हावाको स्पर्श, निलो आकाश र गहिरो समुन्द्रको दृश्यहरु लिइरहेको थिएँ। त्यो विशाल अन्धकार समुन्द्रको गहिराइमा मैले आफू भित्रको उज्यालो भेटेँ। मैले आफ्नै सोचलाई भेटेँ। आफैंलाई भेटेँ। 

 ... र यतिकैमा बत्ती पनि आयो।

Comments

Popular Posts