उल्टो

    आज एक्कासी १२ पछि ११ हुँदै घडीको सुई उल्टो घुम्न थाल्यो। हेर्दाहेर्दै हिजोको जुनेली उज्यालोमा सजिएको त्यो मध्यरात आज घामको तापले बनाएको उज्यालो दिनमा परिणत भएछ। अगाडि र सिधा हिड्नु पर्ने मान्छे म पछाडि र टेडोमेडो बाटोहरु पो हिड्न थालेछु। अनि, दायाँ तिर मोडिनु पर्ने यो समयको चक्र पनि बायाँ तिर मोडिदैँ गएछ। यस्तै गरि सबै उल्टो हुँदै गएछ्न् र उल्टो बाटोहरु पछ्याउँदै गएछ्न्। तर यो मेरो सोच मात्र हो, त्यो पनि उल्टो र बेकम्फुसे सोच। मान्छे पनि उल्टो नै छु कि भनेर ऐना हेरे अनि हाँस्दै सोचे, यसले पनि त्यही उल्टो नै त देखाउने त हो। निकैबेर टोलाएर आफैंमा भुलिने कोसिस गर्दै थिए, मेरो यो उल्टो दिमागले फेरि त्यही उल्टै कुराहरु मात्र खेलाउन पुग्छ। अनि म दिमागलाई उल्टो मोडमा राखेर बेस्सरी घुमाइदिन्छु। 

     यो समयको चक्रसंगै मान्छेको जीवन पनि उल्टो नै भयो भने के होला है? लाग्छ उल्टो भयो भने त्यो मृत्यु पछि पनि कुनै नयाँ जन्म हुने थियो। जन्मले मृत्यु निम्त्याए झैँ, मृत्युले पनि फेरि जन्म नै निम्त्याउथ्यो होला। त्यस्तै, सागर तिर हरकदम मोडिएका ती नदिका लहरहरुले फेरि पहिले झैँ आकाश नै चुम्ने ती हिमालका अग्लाअग्ला टाकुराहरु बनाउथेँ होला। पुनः हिमालका उचाइहरु चुलिन्थे होला। यस्तै गरि म हरेक प्रक्रिया र बाटोहरुलाई एकैछिन मोडाएर वा उल्टाएर आफैंमा सिमित राख्दै छु। किनकी यो समय र परिस्थिति नै उल्टा छन् मेरा लागि। लाग्छ, यो सकारात्मक परिवर्तन निम्त्याउने विकासको मुलमन्त्र नै उल्टो छ, फलस्वरूप विकासले विनाश निम्त्याउदैँ छ। त्यस्तै, सम्पदाको अथाह मालिक भएर पनि सम्पत्ति विनाको गरिब भएका छौं हामी। जसले सम्पदाको अस्तित्व घटाउदैं छन्। 

    अनि यस्तै गरि सबैकुरा उल्टो हुँदै गइरहेका छन् र जान्छन् पनि। केहि राम्रा कुराहरु नराम्रा हुँदैछन् अनि केहि नराम्रा चाहिँ राम्रा। तर आज र अहिले भन्दा बिल्कुलै फरक हुनेछन्। र यस्तै गरि सबैकुरा मेरो टाउकोमा उल्टो गर्दै घुमिरहेका छन्, उल्टो हुँदै गइरहेका छन् र जान्छन् पनि। तर यो मेरो सोच मात्र हो, उल्टो र बेकम्फुसे सोच।

Comments

Post a Comment

Popular Posts