कतै संकटमा त छैन हाम्रो इतिहास ?
यो कृत्रिम संरचनाका चार भित्तामा जन्मकैदको जस्तो सजाए काटिरहेको म कहिलेकाहिँ
सोच्ने गर्छु, "त्यो हाम्रो पुर्खाले कमाएको विरताको चिनो हराएर कतै मेटिने खतरामा
त छैन"? फेरि कल्पिन्छु र प्रश्नका ती गोलाबारुध र ढुङ्गामुढाले आफैंलाई प्रहार
गर्छु र भन्छु, "के त्यो दुख, त्याग, लडाइँ र कैयौं युद्धका संघषको परिणामले
निम्त्याइएको विशाल एकीकरणको मूल्य गुमिरहेको त छैन"? शंका लाग्छ कतै ति रंगिन
विगतका पानाहरु रंगहिनतामा परिणत हुने त होइनन्? यस्तै प्रश्नहरुको विना मौसम बर्षा
भइरहेछ मेरो मन र मानसपटलमा।
म एक्काइसौं शताब्दीको जल्दोबल्दो असाधारण मानिस वर्ग।
मेरा औंलाहरुमा आज भविष्यका सुनौला गोरेटोहरुका मोटा छाप बसिसकेको छ। आज सपना मंगल
ग्रहतिरको त्यो अन्धो दौड़मा ठुला र विशाल रकेटको सहायतामा यताउता भागिरहेछ। वैज्ञानिक आविस्कार र अनुसन्धानले बाच्नको
लागि नयाँ पृथ्वी खोजिरहेछ आज मनुष्य वर्ग। समग्रमा भन्दा प्रविधि र विकासका गतिविधिले सिमा
पार गरिसकेको छ आज र लाग्छ त्यो "असम्भव" को विशाल अर्थलाई पनि आज निकै साँघुरो
बनाइसकिएको छ। कल्पिन्छु, "आहा! कति सुन्दर र विकसित छ है मेरो भविष्य"। साच्चैको
नयाँ युग।
आज आँखा अगाडिका यी बिकासका उमंगहरु र भोलिका सुनौलो उज्यालो भविष्यको
कल्पनाको मन्त्रबाट ठिक विपरित अन्धकार र द्वन्दमय विगत र इतिहासमा फर्केर, अटाएजति
पुर्खाका ती तितामिठा परिस्थितिलाई म आफुमै कैद गर्न चाहन्छु। म हाम्रो भविष्य भन्दा
पनि हाम्रो वर्तमानको सुरुवात तथा हाम्रो इतिहासका गोरेटोहरुमा वायुपंखी घोडाहरु
उडाउन चाहन्छु। किनकी मेरो भविष्य मेरो विगतमा छ। एक प्रसिद्ध फिलोसोफर जर्ज
सन्तयानाले भनेका छन् कि,"तिम्रो भविष्य थाहा पाउन तिमिले आफ्नो विगत जान्नुपर्दछ"। विगत जान्नुपर्छ। इतिहास जान्नुपर्छ। यो तिम्रो, मेरो विगत हैन। सिङ्गो राष्ट्रको
विगत हो। लाग्छ कतै खतरामा त छैन हाम्रो इतिहास? यो निरंकुश शासन र अनैतिकता र
स्वार्थको जालझेलमा अल्झिएको लोकतान्त्रिक र गणतान्त्रिक परिपाटिले तिम्रो हाम्रो
लगायत यो सिङ्गो राष्ट्रकै इतिहासलाई कतै दुरदराजमा कैद त बनाएको छैन?
एउटा
सानो "गोरखा" राज्यका राजा पृथ्वीनारायण शाहले साना र छरिएर रहेका बाईसे तथा चौबिसे
राज्यहरूलाई एकत्रित गर्ने दृढता वा भनौं अठोट नै बोकेका थिए। सायद उनको पालाभन्दा
अघि पनि यस्ता अठोट थुप्रैले लिएका थिए होलान्, प्रयास पनि गरेका थिए होलान्।
त्यस्तै अन्य विभाजित राज्यहरुले पनि यस्ता कामकारबाहीहरु अगाडि लेराएका थिएनन्
भनेर म कदापि भन्दिन। तर नयाँ आधुनिकीकरणको सुरुवात पृथ्वीनारायण शाहले नै गरेका
हुन्, र यसको श्रेय उनलाई नै हुन जान्छ भनेर भन्नुमा कुनै दुईमत नै छैन। यसो
भनिरहँदा इतिहास माथि प्रश्न उठाइन्छ र विविध पक्षबाट आज पनि उठाइरहेका छन्। इतिहास
स्वीकार गर्न आज पनि हामी डराइरहेका छौं। लाग्छ, मेरो यो भोलिको भविष्यभन्दा बढी
धरापमा त हाम्रो सिङ्गो इतिहास नै पो फसेको रहेछ।
इतिहासका प्रमाणहरु भनेर ती बालापनका किताबहरुमा कैद भएका एकदुई हरफहरु र
ईन्टरनेटमा समेटिएका दुईचार कहानी र फोटोहरु मात्र भेट्छु। यहाँ त इतिहास रच्ने
वा भनौं सिङ्गो देश बनाउने महान देशभक्तहरुको इतिहास नै पट्टी लगाइएको न्यायालयको
कानुन जस्तो भइसकेछ। मलाई त लाग्यो यो भ्रम हो। के यो मेरो मात्र भ्रम हो त?,
भनी आफैंलाई प्रष्ट पार्न आधुनिक नेपाली इतिहासका वैज्ञानिकहरुको अनुसन्धान
केलाउन थाल्छु र मन भारी बनाउछु। किनकी उनिहरुको बुझाई र अध्ययन हेरेर यो मनबाट
एकछिनमै इतिहासको त्यो गाँठोको भरोसा खुकुलो हुनपुग्छ। कतै यताकता त्यस्ता
पानाका सारहरु यसप्रकार देख्न पुग्छु, "पृथ्वीनारायण शाहले जे गरे आफ्नो
स्वार्थका निमित्त मात्र गरे, जे गरे अपराध र छलकपटका माध्यमबाट गरे, सिङ्गो
देशलाई धर्म र संस्कृतिका नाममा फेरि विभाजन गरिदिए, नेपाललाई हिन्दुस्तानको
नामकरण गरिदिए, केवल अराजकता र अन्याय मात्र भित्र्याए", अनि कतिले भनेका छन्
कि, "यत्रो एकीकरणको श्रेय उनलाई मात्र किन दिइयो, अरु खोई"? अन्य धेरै
टिकाटिप्पणीहरु छन्। म आफैंमा प्रश्न राख्छु, "त्यत्रो लडाइँ र भागदौडको मुल्य
शुन्य कसरी भयो"?
सायद हिजोका ती दिनहरुमा आधुनिकताले भरिएको यो वर्तमानको जस्तो मेलेमिलाप,
प्रशासकिय गतिविधि साथै नयाँ विज्ञान र प्रविधिका संरचनाले भरिएको हुन्थ्यो त आज
हाम्रो त्यो इतिहास माथि कसैले, कहिल्यै पनि प्रश्न गर्न सक्दैन थियो होला। तर म त
भन्छु इतिहासमा प्रश्न गर्नु नै गलत हो। म फेरि इतिहासमा नै फर्किन्छु। नुवाकोटबाट
आफ्नो लडाइँको यात्रा अघि बढाएका पृथ्वीनारायण शाहले क्रमशः मकवानपुर र उपत्यकाका
कीर्तिपुर, कान्तिपुर माथी जित निकाल्दै एकीकरणको नयाँ गोरेटो बनाएका थिए। यो भन्दा
अघिसम्म उनको लक्ष्य भनेको आफ्नो गोरखा राज्यलाई मात्र बिस्तार गर्ने थियो
भन्नेकुरा बुझिन्छ। जब उपत्यकाका राज्यहरुलाई आफ्नो अधिनमा लिए तब मात्र उनको
राष्ट्रियकरणको औपचारिकता सुरु भएको भनेर इतिहासले देखाएको;छ धेरै बुद्धिजीवीले पनि
बारम्बार भन्दै आएका छन्। तर आज यहि सुरुवातमा नै प्रश्न
उठाइन्छ। म त भन्छु जे जसरी सुरुवात भएपनि अन्त्यमा उनको सार भनेको "सिङ्गो नेपाल"
नै त हो, जुन आज हामी "सुन्दर शान्त नेपाल" भन्दै विरताका गाथा हालिरहेका छौं ।
म केवल पृथ्वीनारायण शाहको मात्र कुरा गरिरहेको छैन। म त उनका अनुयायी, उनिभन्दा
अघि र पछि रहेका हरेक राजा लगायत अन्य तह र पदमा बसेका हाम्रा वीर पुर्खाहरु साथै
एकएक सैनिक र जनताको प्रतिक मान्छु एकिकरणलाई। सिङ्गो राष्ट्र आखिर सबैको रगत र
पसिनाको मीठो फल न हो, जहाँ तिमी, हामी, सबै "मेरो स्वतन्त्र देश नेपाल" भन्दै निर्धक्क
बसेका छौं। यदि इतिहासबाट एउटा पात्रमात्र हटाउने हो भने पुरै इतिहास नै अर्कै
हुन बेर लाग्नेछैन। साँच्चै भन्दा, मलाई त हाम्रो इतिहाससंग कुनै पनि गुनासो छैन। इतिहासले गर्दा नै हामिले स्वतन्त्रता पायौं, राष्ट्रियता पायौं,
साझा फुलबारीको उपनाम पायौं, सामाजिक, सांस्कृतिक र जैविक हिसाबले धनी
देश "नेपाल" पायौं। गुनासो छ त केवल हाम्रो वर्तमानसंग जसले हाम्रो इतिहास र
भविष्य दुबैलाई बलियो आधार दिन्छ।
यति भन्दैमा आज के इतिहास हाम्रो सामु प्रष्ट छ त? के हाम्रो राष्ट्रियताले
इतिहासलाई बोध गराउने भावहरु बोकेका छन् त? यस्ता प्रश्नहरु आज बारम्बार हामीमाँझ
आइरहेका छन्। र यो प्रश्नको जवाफमा नै सबै नेपालीको अस्तित्व रहेको छ। किन
राजनीतिकरण, धार्मिकिकरण र आधुनिकीकरणको चपेटामा परेको छ हाम्रो इतिहास, र हाम्रो
अस्तित्वका बारेमा कहिलेसम्म प्रश्न मात्र उठाउने? राजनीतिक र धार्मिक भन्दा पनि
सामाजिक पक्षबाट अगाडि बढाइएको हाम्रो राष्ट्रियकरणमा किन यतिधेरै शंका र
दुर्व्यवहार? के यो शंका मलाई मात्र लागेको हो र? हिजो मानिसबिच आपसी सद्भाव र
मेलमिलापको प्रतिक बनिएको धर्म र संस्कृति आज किनै तिनै सद्भाव र मेलमिलापकै
विरुद्धमा उभिएको छ?
यो पक्कै पनि हाम्रै गल्ती हो। इतिहास त गल्ती कदापि हुने छैन।
आज ठुला राजनीतिक पदमा बस्ने हरकोही किन यस्ता प्रश्नहरुमा मौन छन्? किन इतिहासलाई
बारम्बार मेटिरहेका छन्, घटाइरहेका छन्? फेरी किन एउटा सम्पुर्ण देशलाई टुक्रा
पारिदैँ छ? त्यो साझाफुलबारीमा किन फूलहरु यतत्रत भएर ओइलिएका छन्? किन एकताको भावलाई
छिन्नभिन्न बनाइएको छ? फेरि त्यहि तानाशाही र निरंकुश शासन प्रति हामि किन ओइरिएका
छौं? फेरी किन जातजाति र भेषभुषाका नाममा द्वन्द र लडाई निम्त्याइदैछ? किन फेरि ती अमर विरहरुलाई
झुन्ड्याइदै छन्? यहि ठुला र बुझ्नेहरुको भागबन्डामा हाम्रा पुर्खौलिले कमाएको सान,
मान र इज्जत कतै ब्यक्तिगत स्वार्थका निमित्त साटासाट त भएको छैन? मेरो मन र
मस्तिस्कलाई उथलपुथल बनाउने गम्भीर प्रश्न नै यिनै हुन् ।
देशका सिमा मिचिए, बेचिए, राजनीतिक परिपाटी बेचिए, कानुन र न्यायालय बेचियो, तराई, पहाड
र हिमालका अनुपम सुन्दरता बेचियो, लगायत हावापानी, ढुंगामाटो सबैसबै बेचिए। साथै अब
देशको इतिहास नै बेचिने संकटमा रहेको छ। म त भन्छु लोपहुने खतरामा पुगेको छ, अझ
भनौं त्यो रेड लिस्टमा माथि उक्लदो क्रममा छ हाम्रो इतिहास। त्यो कैयौं शताब्दी
लामो बिद्रोह र द्वन्दको परिणामले निम्त्याइएको शान्तिमय देशको वातावरणको
संरक्षणमा ढिलो कदापी हुनुहुन्न। नत्र फेरि यी शब्द वा रचनाहरुले भने जस्तै 'नेपाली हामी रहौंला कहाँ नेपालै नरहे' भन्दै 'गाँउ-गाँउबाट उठ बस्ति-बस्तिबाट उठ' भन्ने समय आउन बेर लाग्ने छैन। किनकी जसरी टकनपुर, टिस्टा, कालापानी खोसियो त्यसरी नै हाम्रो इतिहास पनि खोसिन बेर लाउने छैन। 'चेतना भया'।
सन्दर्भ २९९ औ पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको
ति त्याग र संघर्षको परिणाम नेपाल रहेसम्म रहनुपर्छ !
Comments
Post a Comment