म सोच्ने मान्छे !
हिमालभन्दा अग्ला चुनौतीहरुको कल्पना गर्छु अनि एकैछिनमा सोचाई मै भएपनि ती चुनौतीलाई हटाउने उपायहरुलाई चित्रण गर्छु, मनन गर्छु। त्यस्तै, पहाडका उकाली, ओराली, भञ्ज्याङ् र खोल्छाखोल्छी सङ्गै ब्यस्त भएको हिजो सम्झन्छु अनि यतिकैमा ब्यस्त भइरहने भोलिलाई एकैपटकमा सोचाइ मै जिवन्त बनाइदिन्छु। हिमाल र पहाड जस्तै त्यो तराई सम्झन्छु। समथर र उब्जाउ भुमि सम्झन्छु। अन्नको भण्डार भनिने ठाउँमा थुप्रिदै गएको जिम्मेवारी र बोझलाई सोच्ने गर्दछु। हिजो र अस्ति भन्दा धेरै कठिनाई भोग्नु पर्ने त्यो भोलि बारे सोच्दछु।
यस्तैगरी सम्झनाको लहर बोकेर लेर्याउने यो गतिशील हावा, खुशिको बहार बोकेर हिड्ने त्यो पानी र सबैलाई सहारा दिने यि ढुङ्गामाटोका बारेमा सोच्ने गर्दछु। हरिया वनजङ्गलले भरिएको फाँट देखि सुख्खा र बालुवाले भरिएको मरुभूमिका बारे सोच्ने गर्दछु। एक सेकेन्डमै पग्लिरहेका हिउँका पहाड सम्झन्छु, भरिदै आएको समुन्द्र, र मिसावट हुँदै गएको हावापानी सम्झन्छु। अनि तिनका नराम्रा पक्षका बारेमा सोच्ने गर्दछु। प्रकृतिलाई अनुकुल बनाइदिने यस्तै प्राकृतिक सम्पदाहरुमा आएको नोक्सानी सम्झन्छु अनि आफुलाई जिम्मेवार ठान्दछु। केही गर्छु भनि योजना बनाउछु तर म सोचाइ मै असम्भवलाई पनि सम्भव बनाइदिन्छु। मात्र सोचाइमा।
एकैछिन नसोचि बस्न के गर्ने होला भनेर म फेरि गम्भीरका साथ सोच्न थाल्छु। दिमाग खियाउछु। यत्तिकैमा दुखका घाउलाई केही हदसम्म घटाउन आएको यो विकास सम्झन्छु। तर विकासले निम्त्याएको विनाश मात्र देख्छु। ढलेको रुख सङ्गै लडेका ती आशाका लहरहरु सम्झिन्छु, बढ्दै गएको अव्यवस्थित शहर र साँघुरीदै गएको खोलानालालाई सोचेर ओठ कमाउछु। धुवाँधुलोले अन्धकार बनाएको हावा, ढल र फोहोरमैलाले स्थिर बनेका खोलानालाका पानी र स्वार्थका संरचनाले टालिएको भुमि सोचेर भबिस्यमा आउन सक्ने संकट र माहामारीका बारेमा कल्पना गर्छु। अनि त्यो डाँडापारी पुगेपछी देखिने बाकस जस्ता घरैघर सम्झिन्छु। बढ्दै गएको मानव संरचना र दुर्त गतिमा पातलिदै गएको प्राकृतिक सम्पदाका विचमा उभिएको स्वार्थ र लोभले ग्रसित मान्छे सम्झिन्छु। फेरि दोषी आफैंलाई ठहर्याउछु।
हिजो, आज र भोलि यी समयसङ्गै मेरो सोच पनि परिवर्तन हुँदै गएको छ। यतिकैमा यो परिवर्तित समय सम्झन्छु र मन खिन्न बनाउछु। खिन्न भएको मनलाई शान्त पार्न ति समालेर राखेका मनभित्रका केही सुखका अक्षरले कोरिएका पाना पल्टाउन खोज्छु तर स्तब्ध हुन्छु। अनि मापन बिनाको यो सोचले निम्त्याएको धेरैथोरै सुखदुखका क्षणलाई नै आफ्नो दिनचर्या ठान्दछु अनि मनलाई शान्त पार्छु। तर प्रश्नले भरिएको यो समयबाट मुक्त हुन नसकिने निष्कर्षमा पुगेर आफ्नो सोचलाई अन्त्य गर्दछु।
✌️✌️
ReplyDelete😍😍
DeleteKeep it up daii 😊😍
ReplyDeleteSure bhai i will
DeleteKadak brother... Keep it up👌👌
ReplyDelete